शनिबार, असार २०, २०७७

समाचार विशेष

कञ्चनजंघा आरोहणको ६५ वर्ष : बेलायतको शिर ठडिएकाे त्याे क्षण

अग्ला हिमाल आरोहणमा आफ्ना नागरिकको रेकर्ड नहुँदा बेलायत खिन्न थियो। कञ्चनजंघाको सफल आरोहण गरेपछि त्याे खिन्नता मेटियाे भने कञ्चनजंघाको अत्यधिक प्रचार भयाे।

1590387827Just-below-summit-of-Kangch.jpg

इटहरी-  ६५ वर्षअगाडि मेमा प्रदेश १ का दुई विश्वप्रसिद्ध आठ हजार मिटर अग्ला हिमालको पहिलोपटक सफल आरोहण भएको थियो। मे १५ तारिखमा विश्वको पाँचौं अग्लो शिखर मकालु आरोहण भएको थियो। यस्तै मे २५ मा कञ्चनजंघा हिमालको पहिलो सफल आरोहण भएको थियो।

ताप्लेजुङ जिल्लामा पर्ने ८५८६ मिटर उचाइको विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाका अनेक नाम छन्, पाँच चुली, नेपाल पिक, सेवालुङ र सेन्छेलुङ आदि। सेवालुङ र सेन्छेलुङ नाम लिम्बु भाषाका हुन्। शेर्पा भाषामा यो हिमाललाई खाङ्चेन चेङा भनिन्छ।

सगरमाथा सर्वोच्च शिखर कायम नहुन्जेल कञ्चनजंघालाई विश्वको सबैभन्दा अग्लो हिमाल मानिन्थ्यो। यही महत्त्वपूर्ण हिमालको शिरमा सन् १९५५ को मे २५ तारिखका दिन जर्ज ब्यान्ड र जोई ब्राउनले पहिलोपटक पाइला राखेका थिए। यस्ता छन् कञ्चनजंघा आरोहणका केही रोचक प्रसंग :

१. जलमार्ग हुँदै आएका थिए आरोही

कञ्चनजंघाको पहिलो आरोहण दल बेलायतको लिभरपुलबाट जलमार्ग हुँदै फेब्रुअरी १२ मा मुम्बईतर्फ आएको थियो। जोई ब्राउनको पुस्तक ‘द हार्ड इसर्य’ मा उनले आफूहरु बोटमा आएको लेखेका छन्।

बोट यात्रामा उनीहरुलाई पाकिस्तानी सेनामा काम गरेका टोनी स्ट्रेथरले उर्दु भाषाको दैनिक एक घण्टे कक्षा दिएका थिए। मुम्बईबाट टोली दार्जिलिङ पुग्यो। त्यहाँ उनीहरु हिमालयन क्लबको सहयोगमा ज्याक र जिल हेन्डरसनको स्वामित्वको चिया बगानको आवासीय भवनमा बसेका थिए।

दार्जिलिङमा सात दिन बसेपछि उनीहरु सोलुखुम्बुबाट पैदल पुगेका शेर्पा सहयोगीका साथ मार्च १४ मा कञ्चनजंघाको आधारशिविरतर्फ निस्किएका थिए। यो विवरण प्रथम आरोही जर्ज ब्यान्डको दि हिमालयन जर्नलमा सन् १९६१ मा प्रकाशित ‘कञ्चनजंघा क्लाइम्ड’ आलेख र ब्राउनको आत्मकथामा उल्लेख छ।

२. सगरमाथाको सफल आरोहण दलका उपनेताको नेतृत्वमा आरोहण

कञ्चनजंघाको प्रथम आरोहण प्रयासभन्दा ठिक दुई वर्षअगाडि सगरमाथाको प्रथम आरोहण भएको थियो। बेलायती सेनाका कर्नेल जोन हन्टको नेतृत्वमा भएको प्रथम सफल आरोहणका उपनेता थिए चार्ल्स इभान्स। पेसाले फिजिसियन इभान्स कञ्चनजंघा आरोहण दलका प्रमुख थिए। आरोहण दलमा सगरमाथा चुम्ने जर्ज ब्यान्ड पनि सदस्य थिए।

३. बेलायतको शिर ठडिएकाे क्षण

कञ्चनजंघा आरोहणपछि बीबीसीलगायत थुप्रै मिडियाले खुब प्रचार गरे। यसका एउटा कारण थियो, बेलायतीहरुले आठ हजार मिटरमाथिको हिमाल आरोहण गरेर रेकर्ड बनाएको पहिलो घटना थियो।

सन् १९५५ को मध्य मेसम्म आठ हजार मिटरमाथिका हिमाल अर्थात् ‘एटथाउजन्डर’ मा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि), दोस्रो माउन्ट केटु (८६११ मि), पाँचाैं मकालु (८४६३ मि), छैटौं चो ओयु (८२०१ मि), दसौं अन्नपूर्ण (८०९१ मि) सम्म सबै आरोहण भएको थियो। तर यी कुनैमा पनि बेलायती आरोहीले पहिलोपटक पाइला राख्न सकेका थिएनन्। 

सगरमाथा सफल आरोहणको समूह बेलायती भए पनि गैरबेलायती आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शिखर चुम्न सफल भएका थिए। त्यतिबेला बेलायती आरोही खुसी नभएको एडमन्ड हिलारीले आफ्नो आत्मकथा ‘भ्यू फ्रम द समिट’ मा लेखेका छन्।

बेलायतीले सगरमाथा आरोहणमा लाग्ने ठूलो रकम खर्च गरेका थिए। तर टोलीका तर्फबाट गैरबेलायती आरोही न्युजिल्यान्डका  नागरिक मात्रै शिखर चुम्न सफल भए। तेन्जिङ नोर्गे गाइडका रुपमा गएका थिए। न्युजिल्यान्डका नागरिक र गाइड मात्रै शिखरमा पुगेपछि बेलायतीहरुलाई असहज भएको थियो।

कारण, विश्वभर साम्राज्य विस्तार गरेर शक्तिशाली बनेकाे बेलायतले अग्ला हिमाल भने चुम्न सकेकाे थिएन। अग्ला हिमाल आरोहणमा आफ्ना नागरिकको रेकर्ड नहुँदा बेलायत एक प्रकारले खिन्न थियो। उनीहरुले कञ्चनजंघाको सफल आरोहण गरेपछि त्याे खिन्नता मेटियाे भने कञ्चनजंघा आरोहणको अत्यधिक प्रचार पनि गरे।

४. चुचुरोमा पाइला राखेनन् आरोहीले

कञ्चनजंघाको प्रथम आरोहणमा आरोहीले शिखरमा पुगेर पनि पाइला टेकेनन्। कञ्चनजंघालाई नेपालीले अत्यन्तै पवित्र स्थल मान्छन्। प्रथम आरोही जोई ब्राउनले आफूहरुले नेपाली अधिकारीको आग्रहअनुसार चुचुरोमा नकुल्चेको उल्लेख गरेका छन्।

उनले शिखरभन्दा चारपाँच फिटमुनि मात्रै उभिएको बताएका छन्। जर्ज ब्यान्डले पनि सन् १९६१ मा प्रकाशित द हिमालयन जर्नलमा यो कुरा लेखेका छन्। उनीहरुले सिक्किमका तत्कालीन प्रधानमन्त्रीसँग चुचुरो नकुल्चिने सर्तमा स्वीकृति पाएका थिए। सिक्किम  स्वतन्त्र थियो। उनीहरुले आरोहणको स्वीकृति नेपाल र सिक्किम दुवै देशबाट लिएका लिए पनि नेपालबाटै आरोहण गरेका थिए।

५. आरोहीको स्मरणमा ताप्लेजुङको खेबाङ गाउँ

जोईले ‘द हार्ड इसर्य’ मा दार्जिलिङ यात्रादेखि सीधै हिमाली क्षेत्रको बयान गरेका छन्। जर्ज ब्यान्डले भने ताप्लेजुङको खेबाङ गाउँको निकै तारिफ गरेका छन्।

उनीहरु मार्च १४ मा दार्जिलिङ छाडेर सिक्किमको सिंहलिया पहाडी क्षेत्र हुँदै नेपाल प्रवेश गर्छन्। नेपालको सन्दरपुर, फालोट हुँदै उनीहरु ताप्लेजुङको खोबाङ गाउँमा पुग्छन्। त्यहाँ भव्य स्वागत र आतिथ्य हुन्छ।

ब्यान्डले लेखेका छन्, ‘खेबाहाङमा सारा गाउँलेले स्वागत गरेपछि सबै थकान भुल्यौँ। हामीलाई गाउँलेले माला लाइदिए। स्कुले विद्यार्थीले गीत गाए। हामीले उनीहरुको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्यौं।' 

६. ब्राउन पहिले पुगे चुचुरोमा, नेपाल देखियो, सिक्किम छेलियो

हिमाल आरोहण सामूहिक काम हो। त्यही भएर शिखरमा पुग्नेहरुको संख्या एकभन्दा बढी हुन्छ। तर आममानिसमा पहिला कसले शिखर चुम्यो भन्ने चासो हुन्छ। कोही आरोहीले सार्वजनिक रुपमा भन्छन्। कोहीले भन्दैनन्। जोई ब्राउनले पनि यसबारे केही खुलाएका छैनन्।

जर्ज ब्यान्डले दि हिमालयन जर्नलमा जोईले पहिला कञ्चनजंघाको शिखरमा पाइला राखेको उल्लेख गरेका छन्। उनीहरु सन् १९५५ को मे २५ को बिहान २ः४५ मा शिखरमा पुग्न सफल भएका थिए।

ब्यान्डले चुचुरो र बादलले सिक्किम छेलिए पनि नेपाल, तिब्बत र मकालु, ल्होत्से र सगरमाथा मज्जाले देखिएको बयान गरेका छन्। जर्ज ब्यान्डको ८२ वर्षको उमेरमा सन् २०११ को अगस्ट २६ मा मृत्यु भएको थियो। उनी कञ्चनजंघाको स्वर्ण महोत्सव मनाउन सन् २००५ मा नेपाल आएका थिए। जोईको निधन गत वैशाख ३ गते ८९ वर्षको उमेरमा बेलायतमा भयो।

७. ब्राउनका आँखा बन्द, शेर्पा सहयोगीको मृत्यु

चुचुरोमा पुग्ने समय घर्किसकेको थियो। ब्राउन र ब्यान्ड दुवैसँग १ घण्टाका लागि मात्रै पुग्ने अक्सिजन थियो। त्यसैले उनीहरु एक घण्टामा जसरी पनि चुचुरोमा पुग्नेपर्ने थियो। त्यसैले उनीहरु जोखिम मोलेर चुचुरोतर्फ अघि बढे।

भाग्यवस ४५ मिनेटमै पुग्न सफल भए। चुचुरोबाट फर्केको केही समयमै अक्सिजन सकियो। उनीहरुलाई ओर्लिन गाह्रो भएन। एक घन्टापछि अचानक हिउँले ब्राउनको आँखा चिलाउन थाले। बिहान भइसक्दा उनी देख्न नसक्ने भए। ब्यान्ड र क्याम्प पाँचका साथीहरुको सहयोगमा ब्राउन क्याम्प चारमा आए। त्यहाँबाट दुई सहयोगीले समाएर तल ल्याए। उनी चौबिस घन्टा सुते अनि बल्ल थोरै मात्र देख्न थाले।

 ब्राउनको आँखा बिस्तारै निको भयो। तर निमोनियाका कारण शेर्पा सहयोगी पेबी दोर्जीको ज्यान गएको ब्राउनले आत्मकथामा लेखेका छन्। शेर्पाको मृत्यु मे २६ मा भएको थियो। उनको अन्त्येष्टि आधार शिविरकै एक कुनामा शेर्पा परम्पारअनुसार गरिएको थियो। ब्यान्डले कञ्चनजंघा भगवानलाई एक अब्बल साथी चढाउनुपरेको उल्लेख गरेका छन्।

अप्रिल १२ मा पहिलो आधार शिविर निर्माण गरेका बेलायती आरोहीले कञ्चनजंघाको सफल आरोहण बनाएर कीर्तिमान राखेपछि २८ मेमा हिमालबाट बिदा भएका थिए।

प्रतिक्रिया दिनुहोस्