विहीबार, जेठ १५, २०७७

कला - साहित्य

पढ्ने बानी लगाउन बुद्धिसागरका ९ टिप्स

1589361904buddhisagar.jpg

लकडाउनले गर्दा पुस्तक पढ्न, चलचित्र हेर्न, गीत सुन्नको लागि प्रशस्त समय छ। तर, पढ्ने रहर भए पनि कतिपयलाई पुस्तक हेर्नै मन लाग्दैन। कसैलाई एक वा दुई पाना पढेपछि अगाडि पढ्न अल्छी लाग्छ।

पढ्न मन भएर पनि पढ्न नसकिरहेकाहरूको लागि लेखक बुद्धिसागरले पढ्न मन लगाउने केही उपाय सुझाएका छन्।

— पढ्न मन नलाग्नु भनेको— अरू कुरामा ध्यान जानु हो। एक दुई पन्ना पढ्यो कि निद लाग्छ की तिनै पन्ना मध्येको कुनै शब्दले अर्को कुनै स्मृतिमा गाँस्छ। स्मृतिमा हराउँदा हराउँदै, के पढेँ भनेर थाहै हुन्न। फेरि दोहोर्‍यानु पर्ने हुन्छ। दोहोर्‍याय पनि स्थिति उही हो। अब बुझ्नुस्— तपाईंको ध्यान अन्तै अरू केही कुरामा छ।

— कि तपाईं आफ्नो मनस्थिति बाहिरको किताबमा हुनुहुन्छ। किताब बेकार होइन, तर तपाईं त्यो किताब पढ्ने मुडमा हुनुहुन्न। म चाहिँ यस्तो बेला घरमा भएका धेरै किताब पढ्ने कोसिस गर्छु अलिअलि, तानेन भने अर्को पढ्छु, अर्को अर्को। कुनै न कुनैले अन्तिमसम्म पुर्‍याउँछ।

— भए भरका किताब पढ्दा पनि तानेन भने कुनै एक किताब वाचनै गरेर पढ्छु भन्ने प्रतिज्ञा गर्छु र किताब स—स्वर पुरा पढ्ने कोसिस गर्छु। स–स्वरमा पढेको किताब पूरा गर्दासम्म अर्को किताब पढ्ने मुड र जाँगर तयार भइसकेको हुन्छ।

— किताब पठनलाई जीवन शैलीसित जोड्नुस्। हरेक दिनको कुनै समय किताब पठनलाई छुट्याउनुस्। त्यो समयमा पढ्ने कोसिस गर्नुस्। मुड नचले पनि यति पेज त पढ्छु भन्ने प्रतिज्ञा गर्नुस्। विस्तारै तपाईंलाई किताबको बानी पर्छ। सर्रसर्र पन्ना पल्टने आवाजको बानी पर्छ।

— सधैं महान व्यक्तिले सिफारिस गरेका मात्रै किताब पढ्छु भन्ने धारणा नबनाउनुस्। त्यसैले आफैंले पनि पुस्तकको खोजी गर्नुस्। पुस्तक छान्ने मेरो तरिका छ — पसलमा जाने, हरेक किताब बीचबाट पल्टाउने। कुनै न कुनै अध्याय तपाईंको रूचीको अवश्य फेला पर्नेछ। बीचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताब पढ्ने वातावरण बन्नु हो।

— सधैं महान र प्रख्यात किताब पढ्छु भन्ने धारणा त्याग्नुस्। यो धर्तिका महान लेखक मध्येका एक मार्खेज गृहलक्ष्मी टाइपका पत्रिका पनि पढ्थे। पछिल्लो समयका नेपाली साहित्यका मुर्धन्य भनिने धेरै साहित्यकार प्रकाश कोविद र युधीर थापा पढेर आएका हुन्। काम सानो हुँदैन भनेजस्तो पुस्तक पनि सानो हुँदैन। जुन किताबमा तपार्इंको मन बस्यो, त्यही अमूल्य पुस्तक हो।

— पुस्तकको मोटोपन र पातलोपनतिर पनि नजानुस्। स्वादको छ कि छैन एकपल्ट पन्ना उघारेर पढ्ने कोसिस गर्नुस्। आफ्नो स्वादको पुस्तक कहिल्यै पनि मोटो लाग्दैन। र, पातलो पुस्तक सबैको प्रिय पनि हुँदैन।

— मानौँ, पुस्तक पढ्न मनै लाग्दैन। नपढ्नुस्। संसारमा कुनै पनि कुरा मन नलागेको गर्नु हुँदैन। तर, अर्काको नपढी, म आफ्नै मात्र लेख्छु भन्ने ढिपी चाहिँ गर्नु हुँदैन।

— भविष्यमा लेखक हुन्छु भनेर मात्र पुस्तक पढेर हुँदैन। हरेक क्षेत्रकाले पढ्नुपर्छ। अहिले त संसार इन्टरनेटले एक डल्लो भइसक्यो। तपाईं जुन क्षेत्रमा भए पनि पुस्तक पढ्ने गर्नुस्। नेपाली हुनुहुन्छ सकेसम्म नेपाली पढ्ने कोसिस गर्नुस्। किनभने, तपाईं नेपालको सीमा काटेर नेपाली परिचय बोकेर अर्को सीमाभित्र पस्नु भयो भने तपाईंलाई अमेरिका, पाकिस्तान वा इजिप्टमाथि कसैले सोध्दैन, सोध्छ त नेपालमाथि। मलाई लाग्छ— नेपाल चिनाउने पुस्तक नेपाली भाषामा धेरै छन्।

ह्याप्पी रिडिङ् ।

प्रतिक्रिया दिनुहोस्