शनिबार, असार २०, २०७७

समाचार ब्लग विशेष

घर हिँडेकालाई धुलिखेलसम्म पछ्याउँदा...

1586768389dhulikhel_(9).jpg

अस्ति शनिबार बिहान नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र संवाददाता ज्योति अधिकारी रिपोर्टिङका लागि पशुपति क्षेत्र पुग्दा केही मजदुर मन दुखाएर बसिरहेका थिए।

उनीहरुको दुखेसो थियो– ‘लकडाउनले गर्दा काठमाडौंमा टिक्न सकिएन। केही साथीहरु हिँडेरै गाउँतिर लागे, हामीलाई त्यो आँट पनि आएन।’

उनीहरुको कुरा सुनेर श्रेष्ठ र अधिकारीले ती ‘साथीहरु’लाई पछ्याउने विचार गरे। र, लागे धुलिखेलतिर।

जेठको बाँझो बारीजस्तै चिरिएका खुट्टामा पुराना चप्पल लगाएका र पिठ्युँमा फाटेको झोला बोकेका केही मानिस धुलिखेलमा भेटिए। त्यहीमध्येका थिए प्रशान्त चौधरी।

कति दिनमा र कुन हालतमा गन्तव्यमा पुगिन्छ भन्ने टुंगोबिनै उनीहरु थातथलो फर्किंदै थिए। उनीहरुको आँखामा आतुरी थियो आफ्नै माटोमा पुग्ने अनि पीडा थियो राजधानीले नपत्याएकोमा। गुनासो थियो सरकारको राहत वितरणमा।

“हामी स्वयम्भूको एउटा डण्डी, फर्मा बनाउने फ्याक्ट्रीमा काम गर्थ्यौं। लकडाउनले काम रोकिएपछि साहुले वास्ता गरेन। भएको केही पैसा पनि सकियो । हामीसँग एउटै विकल्प थियो, घर हिँड्नु। चार–पाँच दिनमा त पुगिएला कि बर्दिवास ?” प्रशान्तले मलिन भएर सुनाए।

झोलामा केही प्याकेट चाउचाउ र दुई–चार किलो चिउरा हालेर उनीहरु स्वयम्भूबाट हिँडेका थिए, झन्डै दुई सय किलोमिटरको पैदल यात्रामा।

काठमाडौंबाट हिँडेर बनेपा पुगेका दिलबहादुर बोेटे पनि थिए त्यही समूहमा । उनी वैदेशिक रोजगारीमा जान चैत ९ गते काठमाडौं आएका थिए। उनको मलेसिया जाने टिकट चैत १३ गतेको थियो।

तर, ११ गतेदेखि नै देश पूर्ण लकडाउनमा गयो। इन्टरनेशनल फ्लाइट पनि हुने कुरै भएन। “केही दिन अगाडि नै काठमाडौं आएको थिएँ तर उड्न पाइएन। काठमाडौंमा कति दिन भोको बस्नु। छ–सात दिनमा त पुगिएला नि भनेर घर हिँडको,” दिलबहादुरले भने।

भक्तपुरको जगातीमा रहेको प्रहरी चेकपोष्टमा सुरक्षाकर्मीले सवारीसाधनका साथै पैदल यात्रुलाई पनि रोकेर सोधपुछ गर्ने रहेछन्। विभिन्न वहानामा काठमाडौं छाड्नेहरु बढ्दो क्रममा रहेका त्यहाँ खटिएका एक प्रहरीले सुनाए।

धुलिखेलभन्दा ५ किलोमिटर परको भञ्ज्याङसम्म पुग्दा करिब १५ हुल मानिस भेटिए पैदल गन्तव्यतर्फ लागेका। गन्तव्य भेट्ने हतारो थियो सबैलाई तर कहिले पुगिने टुंगो थिएन। कोही यात्रु प्रतीक्षालयमा बसेर चाउचाउ र चिउरा चपाउँदै थिए ।

‘यति दुःख गरेर किन घर जान लाग्नुभएको ?’ भनेर सोध्दा उनीहरुको जवाफ थियो, ‘बन्द कहिले सकिने टुंगो छैन। काठमाडौंमा बाँच्ने आधार भेटिएन अनि हिँड्यौँ। बास बस्ने ठाउँ पाए बस्छौं, नभए रातभरी भए पनि हिँड्छौं।’

धुलिखेलमा खटिएका सुरक्षाकर्मीका अनुसार दैनिक ३ देखि ५ सय जनासम्म वीपी राजमार्ग हुँदै पैदल नै मानिसहरु बाहिरिरहेका छन्। कतिपय त खुट्टा खोच्याउँदै पनि हिँडिरहेका हुन्छन्।

“बालबालिका, अशक्त, गर्भवती तथा बूढाबूढीलाई तरकारी वा खाद्यान्न बोक्ने गाडी पाइयो भने त्यसैमा हालेर पठाउने गरेका छौँ । होइन भने हामीसँग पनि विकल्प हुँदैन,” चोकमा खटिएका एक सुरक्षाकर्मीले भने ।

बनेपामा केही स्थानीयले हिँडेर घर फर्कने मजदुरलाई लक्षित गर्दै पिउने पानी, चाउचाउ र जुस बाँड्ने गरेका रहेछन् । स्थानीय सुदन परियारले भने, “खाजा खानलाई कुनै होटल खुला छैन । नयाँ मान्छे देख्दा सबै डराउँछन्। मानिसहरु हिँडेरै घर जान थालेको थाहा पाएर हामीले यसरी बाँड्न थालेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्