शनिबार, असार २०, २०७७

विशेष
1585977401salyan.jpg
तस्बिरः तुल्सीबाबु बस्नेत।

सहर परनिर्भर हुन्छ, त्यसैले बन्दाबन्दीको चर्को असर परेको छ। तर, गाउँको जनजीवनलाई खासै छुन सकेको छैन, कामकाज यथावत् छ, आपूर्ति बन्दले आत्मनिर्भर बन्ने झन् जाँगर थपिदिएको छ।

यतिबेला विश्वलाई कोभिड–१९ को महामारीले पिरोलेको छ। नेपालमा पनि यसको जोखिम कम गर्न २५ चैतसम्म बन्दाबन्दी (लकडाउन) गरिएको छ।

बिहीबार सरकारले लकडाउनलाई थोरै खुकुलो बनाउँदै अत्यावश्यक उद्योग, आयोजना निर्माण र खेतीपातीमा ‘सोसल डिस्ट्यान्स’ (सामाजिक दूरी) कायम गरेर परिवारका सदस्यले मात्रै काम गर्न सकिने निर्णय गर्यो। तर, यसअघि पनि बन्दाबन्दीले गाउँले जनजीवनमा उतिसारो प्रभाव पार्न सकेको थिएन।

नजिकैको बजारसम्मको आवतजावत र किनमेलमा असर गरे पनि अन्य दैनिक कामकाज, घाँसदाउरा, खेतीपाती, मेलापातलगायत काममा कुनै प्रभाव परेन। सधैं चहलपहल हुने सहरहरू मात्रै होइन, स–साना बजारसमेत ठप्प हुँदा गाउँ पूर्ववत् तरिकाले व्यस्त भइरहेको छ।

कोभिड–१९ मानिस–मानिसबीचको भौतिक सम्पर्कलगायतबाट सर्ने पुष्टि भइसकेको छ। त्यसैले भीडभाडमा जान हुँदैन भन्ने धेरैलाई जानकारी भइसक्यो। बाक्लो बस्ती र मानिसको हुलले सहरमा लकडाउनको विकल्प रहेन। सहर बजारमा घरबाट निस्केपछि अर्को व्यक्तिको सम्पर्कमा पुग्दिन भनेर पनि सम्भव छैन।

तर, गाउँको अवस्था ठिक उल्टो छ। पातलो बस्ती, घरहरू टाढा–टाढा हुने र भीडभाड नहुने भएकोले पनि बन्दाबन्दीले गाउँले जीवनलाई छुन सकेको छैन। गाउँमा भएकाहरू निस्फिक्री घरभित्र र बाहिरको काम गरिरहेका छन्।

निस्फिक्री देहात

काठमाडौंबाट बन्दाबन्दीको पहिलो दिन बिहान प्युठानको डाँडा क्वादी पुगेका मुकेश योगीले आफू खेतीपातीकै काममा व्यस्त भएको सुनाए। “सहरमा जस्तो गुम्सिएर बस्नुपरेको छैन,” उनले भने, “दिनभर खेतबारीमा व्यस्त भइन्छ, समय बितेको पनि थाहा हुँदैन।” आखिर गाउँ नै चाहिने भएकोले पढाइ सकेलगत्तै गाउँमै केही गर्ने सोच आएको उनको भनाइ छ।

गोरखा सौरपानीकी शारदा ढकालको परिवारलाई पनि खासै फरक परेको छैन। देशभर बन्दाबन्दी छ, दिनभर के गरेर बस्नुहुन्छ? भन्ने जिज्ञासामा उनले भनिन्, “हामीलाई हिजो जस्तो थियो आज पनि त्यस्तै हो। बजार जान पाइँदैन, गाडी चलेका छैनन् रे भन्ने चाहिँ सुनेकी छु।”

दुःखसुख थातथलोमै

संकटको पूर्वसंकेत पाएलगत्तै सहर छोडेर गाउँ फिर्नेहरूको लर्को लाग्यो। बन्दाबन्दीको केही दिनअघिबाट सरकारले अत्यावश्यकबाहेकका सेवा बन्द गर्न आह्वान गरेको थियो। अनावश्यक रुपले घर बाहिर नहिँड्न आग्रह गरेको थियो। यसले गाउँ फिर्नेहरूको ग्राफ झन् बढायो।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १ देखि १० चैतसम्म साढे १२ लाख व्यक्तिले काठमाडौं उपत्यका छोडे। यो तथ्यांक सार्वजनिक यातायात प्रयोग गरी उपत्यका छोड्नेहरूको मात्र हो। यसैगरी अन्य सहरबाट घर फर्किनेहरू ताँती पनि कम रहेन।

बन्दाबन्दीको आह्वान भएसँगै गाउँगाउँबाट सहरमा अध्ययन, रोजीरोटी वा अन्य सिलसिलामा छिरेकाहरू सम्भव भएसम्म रातारात गाउँ पुगे। अर्थात्, आफ्नो जन्मथलो फर्के। बन्दाबन्दीको समयमै पनि कतिपय हिँडेरै फर्के। कति अझै फर्किंदै छन्।

बन्दाबन्दीमा घर पुग्न ६० घण्टा पैदल

जो घर पुग्न १२७४ किलोमिटरको पैदल यात्रामा छन्

उता भारतमा पनि बन्दाबन्दी लागू गरिएपछि रोजीरोटीका लागि पसेकाहरू आफ्नो देश र परिवार सम्झेर फर्के। ७२ घण्टासम्मको पैदल दूरी पार गरेर नेपाल–भारत सीमाना धार्चुला आइपुगेको खबर सञ्चारमाध्यममा छ्यापछ्प्ती भयो।

तर, सरकारी निर्णयका कारण उनीहरूले केही मिटर परबाट आफ्नो माटो हेरेर चित्त बुझाउनुपर्यो। कतिले ज्यानको बाजी लगाएर महाकालीमा पौडिएर आउनुपर्यो। सरकारको अर्को निर्णय नआउँदासम्म सम्भवतः कम्तिमा १४ दिन उनीहरूले आफ्नो मातृभूमि टेक्न पाउने छैनन्।

सहर र गाउँका मानिसको भोगाई र बुझाइ मात्रै होइन, आवश्यकता पनि फरक हुन्छ। गाउँका आवश्यकता सीमित छन्। अधिकांश दैनिक उपभोग्य सामग्री खरिद गर्नु पर्दैन। एक गाउँबाट अर्को गाउँ वा भनौं एक दुई घण्टाको यात्रा पैदल हुन्छ। सहरमा जस्तो हर छाकको खाना–खाजा र तरकारी किन्नु पर्दैन। अथवा भनौं गाउँको जीवन आत्मनिर्भर प्रायः हुन्छ।

आत्मनिर्भरले नै गाउँलाई बन्दाबन्दीलगायतका अप्ठ्याराहरूले छुन नसक्ने अर्थशास्त्री डा. डिल्लीराज खनाल बताउँछन्। “गाउँमा बजारिया सामग्रीको उपभोग तुलनात्मक रुपमा कम हुन्छ,” उनी भन्छन्, “अप्ठ्यारै परे पनि वल्लोपल्लो घरमा सरसापटी र ऐँचोपैँचो चल्छ।”

त्यसो त मानिसले दुःखमा मात्रै होइन, सुखमा पनि आफ्नो थातथलो सम्झिन्छ। यसको उदाहरण हो– दसैँ र तिहारमा घर फर्कनेहरूको ताँती। उक्त समय देश विदेशबाट परिवारको सामीप्यमा पुग्नेहरू थुप्रै हुन्छन्। खुसीसाथ मनाइने यस्ता ठूला चाडबाडमा अधिकांश सहर शून्य बन्छन्।

हरेक सुखदुःखको बेला मानिस आफ्नो जन्मथलो किन सम्झिन्छ? मानवशास्त्री प्रा. डम्बर चेम्जोङ भन्छन्, “हरेकले आफ्नो घरमा ढुक्क महसुस गर्छ, हाँसो र आँसु दुवै आफ्ना नजिककासँग साट्न चाहने मानवीय स्वभाव हुन्छ।” जन्मथलोसँग भावनात्मक आत्मियता र सामाजिक नाता हुने भएकोले मानिसलाई प्यारो लाग्ने चेम्जोङको भनाइ छ।

हावापानी, भूगोल, बनावट, आर्थिक र सामाजिक कारणले सहरभन्दा मानिसले गाउँ सुरक्षित ठान्छ। थुप्रै मानिस अवकासपछि पनि गाउँ सम्झिन्छन्। “प्राकृतिक जीवनसँगको सामिप्यताले पनि गाउँठाउँ जान्छन्,” चेम्जोङ भन्छन्, “सुखदुःखमा गाउँ जानुको कारणचाहिँ व्यक्तिगतभन्दा सामाजिक सम्बन्ध र सामिप्यताको कुरा हो।”

संकटमा आफ्नो जन्मभूमि प्यारो लाग्ने नेपालीका लागि मात्र होइन, अन्य मुलुकका नागरिकका लागि पनि उस्तै हो। यसको पछिल्लो उदाहरण, तुलनात्मक रुपमा अहिलेसम्म सुरक्षित मानिएको नेपालबाट अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, जर्मनीलगायतका देशले विमान चार्टर्ड गरी आफ्ना नागरिक लैजानु र ती नागरिकहरू जान चाहनु।

काठमाडौंबाट २७२ जर्मन नागरिकको एयरलिफ्ट

अमेरिकाले पनि एयरलिफ्ट गर्यो आफ्ना नागरिक

यसअघि २०७२ को भूकम्पमा पनि मानिसलाई गाउँले तानेको थियो। यो पटक त सहरबासीलाई मात्रै होइन, देश छोडेर बाहिरिएकालाई आफ्नो थातथलो याद दिलाएको छ। आउन नसके पनि थुप्रै प्रवासीहरूलाई यतिबेला सायद घरको यादले सताएको छ।

अमेरिकी गायक एल्भिस प्रेस्लीले गाएजस्तै ‘होम इज ह्वेर दि हार्ट लाइज’ अर्थात् घर त्यहीँ छ जहाँ हृदयको बास हुन्छ। त्यसैले होला जहाँ बसे पनि व्यक्ति थोरै दुःख र सुख साट्न आफ्नै थातथलो फिर्छ।

सहर किन पस्छ मान्छे?

नेपालजस्ता अल्पविकसित राष्ट्रमा विविध कारणले मानिस सहर छिर्छन्। विकासको केन्द्रीकरणले पनि मानिसलाई सहरप्रतिको आकर्षण बढाउन भूमिका खेलेको छ। गाउँमा रोजगारीको अवसर नहुने, स्वास्थ्य शिक्षालगायतको पहुँच नहुँदा पनि मानिस सहर पस्न बाध्य बन्छ। स्वभाविक रुपमा गाउँमा भन्दा सहरमा अवसर बढी हुन्छन्।

आवश्यकता र महत्त्त्वाकांक्षाले पनि मान्छे सहर छिर्ने प्रा. चेम्जोङ बताउँछन्। “जति आवयश्कता बढ्छ, दुःख पनि थपिँदै जान्छ,” उनी भन्छन्, “हेर्नुस् त आवश्यकता थोरै हुने गाउँका मान्छे सहरबासीभन्दा कति खुसी छन्।”

त्यस्तै कतिपयको दृष्टिकोणले पनि सहरको बसाइँ रोजेको हुन्छ। सहर बस्दैमा अलि सम्पन्न, भलाद्मी ठान्ने प्रवृत्तिले पनि काम गरेको जानकारहरूको बुझाइ छ। रहरले सहर बस्नेहरूको संख्या पनि कम छैन।

प्रतिक्रिया दिनुहोस्