शनिबार, असार २०, २०७७

विशेष

बन्दाबन्दीमा घर पुग्न ६० घण्टा पैदल

1585452798sujan_sindhupalchok.jpg

कुनै ठूलै विपत्ति आइलागेको छ भन्ने बुझेका उनीहरुले परिवार र बालबच्चा सम्झिए। जे पर्ला, हिँडेरै भए पनि घर जाऊँ भन्ने लाग्यो र सुरु गरे पैदल यात्रा।

काठमाडौं– कोरोना संक्रमणको जोखिम कम गर्न ११ गते बिहानदेखि देश बन्दाबन्दी (लकडाउन) मा छ। यही अवस्थामा सिन्धुपाल्चोकको एउटा घुमन्ते व्यापारी समूहले तीन दिन लगाएर झन्डै १७० किलोमिटरको पैदल यात्रा गरेको छ।

जो जहाँ छ त्यही रोकिनु, घरभित्रै सुरक्षित रहनु कोरोना संक्रमणको जोखिम कम गर्ने प्रमुख उपाय पनि हो।

तर, आफ्नो थातथलो छोडेर टाढा पुगेका यी व्यापारीलाई नयाँ ठाउँमा सबैतिर बन्द हुँदा के गरी खाने भन्ने समस्या पर्याे। ‘लकडाउन’ को खबर धादिङ, सल्यानटारका प्रहरीबाट सुनेका उनीहरुलाई कोरोना भाइरसबारे धेरै जानकारी थिएन।

कुनै ठूलै विपत्ति आइलागेको छ भन्ने बुझेका उनीहरुले परिवार र बालबच्चा सम्झिए। जे पर्ला, हिँडेरै भए पनि घर जाऊँ भन्ने लाग्यो र सुरु गरे पैदल यात्रा।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका सुजन हमाल, प्रकाश हमाल, लालुकुमार मल्ल लगायत १४ जना सल्यानटार पुगेका थिए व्यापारका लागि। हिउँद लागेसँगै भाँडाकुँडाको भारी बोकेर गाउँगाउँ डुल्दै बेच्नु उनीहरुको पेसा हो। वर्षका केही महिना गाउँगाउँमा घुमेर कमाएको रकमले उनीहरुको गुजारा चल्छ।

तर, एक्कासि विश्वलाई स्तब्ध पार्दै फैलिएको कोरोनाले उनीहरुको व्यवसाय बन्द मात्र गराएन, ठूलो विपत्तिका बेला जहान परिवारको अवस्था कस्तो होला भन्ने चिन्ता पनि थपियो।

१० चैत साँझ दिनभरको व्यापारपछि साँझ सल्यानटारमा भाडामा लिइएको एउटा कोठामा उनीहरु बास बस्न जाँदै थिए, प्रहरीले उनीहरुलाई भोलिदेखि व्यापारमा नजान र घरमै बस्न भन्यो। बल्ल उनीहरुले नयाँ शब्द सुने ‘लकडाउन’।

जस्तै ‘लकडाउन’ भए पनि उनीहरुको मन भने भुरुरु उडेर पुग्यो इन्द्रावती–२ स्थित गाउँमा। बालबच्चा सम्झिए, घर आँगन याद आउन थाल्यो। यो माहामारीमा टाढाको सल्यानटारमा थन्किन कसरी सक्थे र! यस्तै बेला त हो घरपरिवार चाहिने।

कोरोनाले मर्ने नै भइयो भन्ने लागेछ उनीहरुलाई। राति निद्रै परेन। सल्लाह गरे– अब जे जसरी भए पनि घर फर्किने। कथं बिरानो गाउँमा मरिहालियो भने घरपरिवारलाई खबर पुर्याइदिने समेत कोही हुँदैन भन्ने लाग्यो।

११ गते बिहान ९ बजे खान खाइवरी बिक्री हुन बाँकी भाँडा कोठामा राखेर ताल्चा ठोके। झोला भिरे र गाउँतर्फको पैदल यात्रा थाले।

लकडाउनका बेला १४ जनाको टोली हिँडिरहेको देख्नेले कौतुहलपूर्वक हेर्थे। बाटोमा भेटिएका प्रहरीले रोकेर सोधखोज पनि गर्थे।

उनीहरुको जवाफ एउटै हुन्थ्यो, ‘लकडाउन कहिलेसम्म हो थाहा छैन, अरुको गाउँमा के खाएर बस्ने ? त्यसैले घर हिँडेको।’

झन्डै १४ घण्टा लगातार हिँडेपछि उनीहरु नुवाकोटको गँगटेमा बास बस्न पुगे, राति ११ बजे। मध्यरातमा कसलाई उठाएर बास माग्नु। कोरोना सन्त्रासका बेला कसैले बास पनि नदेला। उनीहरुले गाउँछउकै पाटीमा रात बिताए।

घर लैजान भनि किनेको फाइबरको सिरक झोलामा थियो, त्यसले अलिक न्यानो बनायो। सल्यानटारबाट हिँड्दा किनेको चाउचाउ, बिस्कुट बाटोमै सक्किएको थियो। पानीले आँत भिजाएर निदाउने प्रयास गरे।

१२ गते त्रिशूली पुग्दा उनीहरुसँगै व्यापारका लागि आएका थप तीन जना गाउँले भेटिए। १७ जनाको यो टोली राति भीरकुनामा बास बस्न पुग्यो।

मनकारी गाउँले भेटिएछन्, सन्त्रासका बेला पिँढीमै भए पनि सुकुल, कम्बल जे छ ओछ्याइदिए। खाना बाटोकै एउटा होटेल खुलाएर खाइसकेका थिए।

सुजन भन्छन्, ‘यस्तो दुःख त कहिल्यै पाएको थिएन, दुःखसँगै मनमा त्रास पनि थियो। घरपरिवारको माया र चिन्ता पनि उत्तिकै।’

‘यसैबेला गाउँमा चोरको बिगबिगी छ भन्ने खबर आयो त्यसले झन् चिन्ता थप्यो’, सुजनका साथी प्रकाश भन्छन्।

तीन दिनको यात्रापछि १३ गते राति ९ बजे उनीहरु आफ्नो घर पुगिसकेका छन्।

‘प्रहरी वा कुनै गाउँपालिकाले बाटोमै रोकिदिन्छन् कि भन्ने डर थियो, तर त्यस्तो केही भएन,’ लालुकुमार मल्ल भन्छन्।

सल्यानटारबाट सामरी भन्ज्याङ, त्रिशूली, ढिकुरी, दुप्चेश्वर, छहरे, थानसिङ, पाटीभन्ज्याङ, मेलम्ची, नवलपुर हुँदै उनीहरुले झन्डै १७० किलोमिटरको यात्रा तय गरे। ‘घर आएपछि त कोरोनाको पनि डर लागेको छैन, अब धेरै सतर्क भइसकेका छौं,’ मल्लले सुनाए।

 

प्रतिक्रिया दिनुहोस्