शनिबार, असार २०, २०७७

ब्लग विशेष

के तपाईंसँग सेल्फी लिन सक्छु?

1585190841leena.jpg

उबर चढेर विमानस्थलबाट बाहिरिएँ। ड्राइभरका अनुसार सात मिनेटमै होटेल पुगिन्छ। विश्वकै सबैभन्दा ठूलो सवारी कम्पनी उबरका अमेरिकामा मात्रै ९ लाख चालक छन्। तीमध्येको एउटा यही हो, जसले १२ घण्टा काम गरेर औसतमा प्रतिघण्टा १५ डलर आम्दानी गर्छ। उबर अर्थात नेपालमा टुटल, पठाओ जस्तै भाडाको कार।

यहाँ आउनुअघि मैले जानजान यो ठाउँबारे गुगलमा खोजी गरिनँ। नयाँ सहर र यहाँका मानिसबारे जान्न उत्सुक छु। त्यसैले चालकसँग गफिने प्रयास गर्दैछु।

पाँग्रामाथिको जीन्दगी कस्तो चल्दै छ त? म कुराको सिलसिला सुरु गर्छु ।

अँ, ठिकठाक।

अलिक रमाइलो उत्तरको अपेक्षा गरेकी थिएँ। यो त बोलिदिएजस्तो मात्रै भयो।

अहिले म उबरको मुख्यालय रहेको क्यालिफोर्नियामा छु। अबका केही दिन उबरका सदस्य मेरा सहयात्री बन्नेछन्।

कारबाट ओर्लिएँ, अगाडिको यात्राका लागि शुभकामना भनेर चालक फर्कियो।

होटेल अगाडि उभिएकी छु। अघि नै भनेँ, मलाई यो ठाउँबारे धेरै जानकारी छैन। त्यसैले, सुरुमा केही झण्झट हुनसक्छ। यो झण्झट होटेल रिसेप्सनबाटै सुरु भयो, केहीबेर रिसेप्सनमा अल्झिएपछि कोठातर्फ लाग्छु।

आगामी तीन दिनसम्म यही मेरो घर हुनेछ। ओहो! निकै भोक पो लाग्यो। रिसेप्सनमा फोन गरेंं– नजिकै खाना पाइने ठाउँ छ कि? उताबाट कसैले विनम्र स्वरमा केही विकल्पहरु सुनायो।

दुखद संंयोग, म जन्मजात शाकाहारी हुँ र अहिले त्यस्तो देशमा छु जहाँ विश्वमै सबैैभन्दा बढी मासु खपत हुन्छ। शाकाहारी भोजन पाइने रेष्टूरेन्ट खोज्न अमेरिकामा निकै गाह्रो छ। अब गुगल नगरी हुँदै भएन। गुगलले भने अनुसारको रेष्टूरेन्टमा केही बेरमै पुगेंं।

तर, यो रेष्टूरेन्ट छान्नु मेरो यात्राको सबैभन्दा ठूलो गल्ती भैदियो। रेष्टूरेन्टमा क्रोकेट (सब्जी हालेको रोल) चाखेर अनुहार विगारेपछि बाँकी खाना पोको पारिदिन भने। ढुक्क छु, कोेठामा पुगेपछि यो पोको सिधै ट्र्यास बीनमा हुत्तिनेछ।

पेटले नराम्रोसँग चिढ्याउँदै छ। सम्झाउन खोज्छु, ‘ठिकै छ नि, यात्रामा यस्तै हो, अनपेक्षित भैदिन्छ ।’

होटेलको कोठामा तीन दिनको तालिका बनाउँदैछु। केही सामान पनि मिलाउनु छ। टेबलबाट नोटबुक उठाएर लेख्दै गर्दा फोेनको घण्टी बज्यो।

हेलो!

हजुर।

तपाईंंले खोेजेको रेष्टूरेन्ट भेट्टाउनु भयो त?

भेट्टाएँ तर, खाना खान सकिएन।

ओहो, नराम्रो भएछ ।

खानाको व्यवस्था यहीँ हुन सक्दैन ?

माफ गर्नुहोला, हामी ब्रेकफास्टको मात्र व्यवस्था गर्नसक्छौं।

उसो भए ठिकै छ। मेरो मोबाइल बज्यो है ।

हस, कुरा गर्नुस्।

बेलुकाको ८ बजेको छ। रेष्टूरेन्टबाट ल्याएको खानाको पोको एकपटक हेरेपछि ब्याग खोतलें। एउटा चकलेट बार रहेछ, त्यही खाएँ।

यूट्यूब हेर्दै, ‘वर्क आउट’ गरिरहेकी छु। नौ बजिसकेछ।

फोनको घण्टी फेरि बज्यो।

हेलो !

माफ गर्नुहोला, मैैले डिस्टर्ब गरें ।

केही छैन, भन्नुस ।

मैले तपाईका लागि खाना ल्याएको छु, तपाईंंलाई मन पर्ने एसियाली खाना।

खाना?

हो। त्यहीँ ल्याइदिउँ?

पर्दैन, म आफैं लिन आउँला।

हस् ।

के हो यस्तो? शुभेच्छा राखेर ल्याइदिएको हो कि, कुनै षडयन्त्र हो यो? भोक निकै लागेको छ तर, अपिरिचितले दिएको खाना... ठिक होला र? होटेलको कर्मचारीलाई विश्वास गर्नु ठिक होला त? यसलाई सदाशयता ठानेर स्वीकारौं कि।

रिसेप्सनमा फोेन गर्छु ।

हजुर, म बोल्दैछु । खाना मेरो कोठा बाहिरसम्म ल्याइदिनुस है।

हस, धन्यवाद। एकैछिन, म आइहालें।

सोच्दैछु। उसका अगाडि अलिक शिष्ट देखिनु पर्ला? कपाल बाँधौ कि? पर्दैन, ठिकै त छु नी। ढोका खोलेर खाना हात पर्दासम्म केही सेकेन्ड मात्रै त हो।

सोेच्दासोच्दै ढोकामा टक टक सुनियोे।

यस्तो दुख गर्नु जरुरी थिएन। धेरै धन्यवाद है।

तपाईंलाई यो खाना पक्कै रुच्ला।
धन्यवाद।

हस्, शुभरात्री । अँ.. तपाईंंसँग एउटा सेल्फी लिन सक्छु?

के भनेको ?

झट्ट आफूलाई मनको ऐनामा हेरें, थाकेको अनुहार, जिङरिङ्ग कपाल। यसले त मलाई सेलिब्रेटी नै ठानेछ क्या हो? कि यसको नियत ठिक छैन?

हुँदैन ।

ठाडै अस्वीकार गरेर ढोका बन्द गरें।

खानाको ताजा हरक नाक हुँदै पेटसम्म पुगेको छ तर, मनमा अनेकौं कुरा खेलिरहेका छन्। यो मान्छेले मप्रति सहानुभूति देखाएको होला कि उसको दिमागमा अरु नै केही होला? यो खान हुने त हो? कि आमालाई फोन गरेर सोधौं? चिन्दै नचिनेको मानिसले यसरी सेल्फी लिन किन खोज्यो होला? आखिर किन? हे भगवान, यो होटेल सुरक्षित त होला नि !

सोच्दा सोच्दै यो खानालाई उसको सदाशयताका रुपमा लिने निष्कर्षमा पुगें। उसले पक्कै मप्रति सहानुभूति देखाएको हुनुपर्छ। भोलि उसलाई भेटेर धन्यवाद भन्नु पर्ला।

विहान, झ्याल उघार्दा सहर मनोरम देखिएको छ। नुहाइसक्दा साढे सात बजिसक्यो। होटेलले दिने ब्रेकफास्टका लागि आतुर छु ।

ब्रेकफास्ट हलमा पुगेपछि करिब ४० वर्षकी आकर्षक महिलासँग आँखा ठोक्किए। हामीले मुस्कान साट्यौं, क्षमकुशल सोध्यौं। उनले मेरा आँखाको बयान गरिन्। अनपेक्षित प्रशंसाले म राती भएँ।

दुध, केरा र सिरिअलको बटुको उठाइसक्दा सामुन्नेको टेलिभिजनमा ट्रम्पको महाभियोगबारे बहस चल्दैछ। अलिक परको टेबलमा बसेका पाका जोडीका आँखा स्क्रिनमै टाँसिएका छन्।

नेपालमा जन्मेहुर्केकी म, अमेरिकामा नयाँ संस्कृति अनुभूत गर्दैछुु। जो कसैसँग पनि आँखा जुध्दा मुसुक्क हाँस्ने यहाँको चलन खुबै मन पर्छ। एक अर्काका लागि ढोका खोलिदिने बानी, चाहे त्यो वालमार्ट, क्रोगर, टार्गेट वा अरु कुनै पसल होस्– गज्जब लाग्छ। प्रत्येक मसिना कुरामा पनि ‘थ्याङ्क यू’ र ‘सरी’ भनिहाल्ने। यहाँका मानिस अर्काप्रति सहानुभूति प्रकट गर्ने कुनै अवसर खेर फाल्दैनन्। अमेरिकी संस्कृतिको सुन्दर पक्ष।

महाभियोगको बहस अझै जारी छ। पाको जोडी अहिले टेलिभिजनमा रुची देखाइरहेको छैन। उनीहरु बसेको ठाउँबाट उठ्छ्न र ढोकातिर लाग्छन् । जाँदै गर्दा दुबैले मतर्फ आकर्षक मुस्कान फ्यांक्छन्। मलाई विछट्टै रमाइलो लाग्छ यस्तो मुस्कान । प्रत्युत्तरमा म पनि दुबैतिर ओंठ तन्काउँछु।

सानफ्रान्सिस्को हेर्ने रहर उहिल्यै देखिको हो, यो सहरमाथि गज्जबको सम्मोहन छ मेरो। धेरै वर्षदेखि कुनै दिन त यो सहर पुगौंला भन्ने लागेको थियो। आज प्रतिक्षा सकिंदै गर्दा फुरुङ्ग परेकी छु।

हिंजो मलाई खाना ल्याइदिने युवक कता होला हँ? रिसेप्सनमा पो छ कि! ऊ.. त्यहीँ त रहेछ नी, उबर एपमा औंला सोझ्याएकी म त्यतै लाग्छु।

जेल लगाएर सर्लक्क कोरिएको कपाल, आकर्षक फ्रेमसहितको चश्मा। ऊ सुन्दर देखिएको छ। मोबाइल फोनको मेन्यूमा थिच्छु, अब मलाई उबर बुक गर्न हतार छैन।

ओहो म्याम, गुडमर्निङ ।

गुडमर्निङ, कस्तो हुँदैछ आजको दिन?

तपाईंलाई देखेपछि चहकिलो भएको छ ।

हा हा... रमाइलो गफ।

उ व्यस्त भैदिन्छ, नजिकैको कुर्सीमा बिसाउँछु आफूलाई ।

सरी म्याम, एकैछिन है ।

हस्, काम सक्काउनुस् ।

मोबाइलमा फेसबुक ‘स्क्रोल’ गर्दैछु– निरुद्देश्य । के हेरिरहेकी छु, थाहा छैन। इन्टरनेट पुस्ताका हामी सामाजिक सञ्जालमा समयलाई यसरी नै स्क्रोल गरेर खेर फालिरहेका छौं। यसको जालोमा हाम्रो पुस्ता अल्झेको छ। यसका अवगुणभन्दा गुण धेरै भैदिउन्।

हजुर म्याम ! सञ्चै हुनुहुन्छ नि ?

म ठिक छु, तपाईंको सुनाउनुस् ।

तपाईलाई देखेर खुसी लाग्यो ।

हिजो राति सेल्फी खिचौं भनेको होइन?

तपाईं फेरि भेटिनुहुन्न जस्तो लागेर नि !

अहिले खिचे भैगो त।

साँच्चै? धन्यवाद म्याम।

हामीले कुरा गर्न थालेको करिब आधा घण्टा भैसकेको छ। उसले बीचबीच ग्राहकलाई सेवा पनि दिइरहेको छ। मेरो उत्सकुताको जवाफमा उसले पछिल्ला वर्षहरुमा विदाका बेला समेत होटेलमा ग्राहक कम हुँदै गएको सुनायो। करिब २२ अर्ब डलरको होटेल उद्योगमाथि अहिले खतरा पैदा भएको छ।

पाकिस्तानी सहर लाहोरको एउटा कुनाको यो मान्छे जीवन सहज बनाउन अमेरिका आएको रहेछ। आफ्नो खर्चबाट केही बचत गरेर घर पठाउन ऊ दैनिक १४ घण्टा काम गर्छ– सातै दिन।

यहाँ आएपछि सबैभन्दा अप्ठ्यारो केमा भयो ? मैले सोधें

भाषा र संस्कृति– मसिनो स्वरमा बोल्यो ऊ ।

अमेरिकी संस्कृतिका विभिन्न पाटा पहिल्याउनै उसलाई समय लाग्यो। अहिले विस्तारै यसलाई अपनाउने प्रयास गर्दैछ। ऊ भन्छ, “दैनिक कैयौं यस्ता अनुभवहरु बटुल्दैछु, जुन लाहोरमा रहँदा कल्पना समेत गर्न सकिन्न।

कलेज पढ्दा एउटी केटी उसलाई असाध्यै मन परेकी थिई तर, कहिल्यै अभिव्यक्त गरेन अरे। आफ्नो कथा सुनाउँदै छ ऊ, “मेरो परिवार र आफन्तले स्वीकार्ने थिएनन्। यहाँ भए त्यस्तो केही हुँदैनथ्यो।”

पहिलो पटक म लाहोरको मान्छेसँग कुरा गरिरहेकी छु । मानिसहरु कसरी पारिवारिक अनुशासन निर्वाह गर्छन... मलाई मन पर्छ। समयसँगै नयाँ कुराको विकास हुँदै जान्छ– राम्रोका लागि, सायद लाहोरमा पनि हुनेछ।

म्याम सबै पाकिस्तानी नराम्रा हुँदैनन्।

उसको कुराले एक खालको झट्का लाग्योे। उफ ! कति सोझो मान्छे । म पनि कति धेरै कुराहरुमा दुखी भैदिन्छु ।

मलाई अझै कुरा गर्ने मन छ। उसको गाउँ, त्यहाँको जीवनशैली, कति धेरै कुराहरु जान्ने उत्सुकता छ ममा । सायद फेरि कुनै बेला ।

होटेलमा एक हुल पाहुना आए, ऊ व्यस्त भयो । मैले उबर बुक गरें ।

तपाईंसँग कुरा गरेर रमाइलो भयो । तपाईं असल हुनुहुन्छ।

मलाई पनि खुसी लाग्यो म्याम । धन्यवाद । सेल्फीका लागि पनि धन्यवाद ।

गाउँका वञ्चित बालबालिकालाई सहयोग गर्ने तपाईंको विचारका लागि मेरो शुभकामना। मेरा तर्फबाट कुनै सहयोग चाहिए सम्झनु होला ।

अवश्य पनि । अर्को वर्षदेखि यो योजनामा काम सुरु गर्छु । धन्यवाद ।

३० वर्ष हाराहारीको यो पाकिस्तानी, आफ्ना वृद्ध आमाबाबु, साथी र आफन्तभन्दा हजारौं किलोमिटर टाढा आएर जीवन सहज बनाउन संघर्ष गर्दैछ। अहिले पनि उसमा गाउँका गरीबलाई सहयोग गर्ने अभिलाषा ज्यूँदै छ। जबकि, उसलाई थाहा छ, त्यती पैसा कमाउन उसले वर्षौं मिहिनेत गर्नुपर्ने छ। फेरि पनि उसलाई आफ्नो उद्देश्यमाथि विश्वास छ। आफ्ना सपनाको शक्तिमा विश्वास छ।

म ऊ बाट प्रभावित भएकी छु । संभवतः उसले मेरो यात्रा सार्थक बनाएको छ। म मनमनै मुस्कुराउँछु । मैले अनुभव गरें, महानता कस्तो देखिंदो रहेछ।

www.leenachitwan.com,  Instagram: leenachitwan

 

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप